डडेल्धुराका दुई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइए


डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिका र नवदुर्गा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार आलिताल गाउँपालिकामा कृष्णानन्द जोशी र नवदुर्गा गाउँपालिकामा दुर्गादत्त भट्टलाई जिम्मेवारीसहित पठाएको हो।
जोशी यसअघि परशुराम नगरपालिकामा कार्यरत थिए भने भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कार्यरत रहेका थिए।


यसैगरी, जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायलाई बझाङको केदारस्युँ गाउँपालिकामा सरुवा गरिएको छ।
सरकारले देशभरका ७८ वटा गाउँपालिकामा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूलाई रिक्त स्थानमा खटाएको जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री प्रतिभा रावलले स्थानीय तहको प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेकी छन्।


