
डडेल्धुरा, असार १४ : शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम आलिताल गाउँपालिकाको सभाहलमा आज(आइतबार) सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजनामा तथा आलिताल गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रम प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको संयोजकत्व तथा गाउँपालिका उपाध्यक्ष मैनाकुमारी बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा पछिल्लो समय बढ्दै गएको लागू औषधको दुरुपयोग, समाजमा देखिएका विभिन्न किसिमका अपराध तथा शान्ति सुरक्षासम्बन्धी चुनौतीका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले लागू औषध दुव्र्यसन नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रममा अर्जुनदल गणका सेनानी केशवराज धामी, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक प्रकाशचन्द्र भट्ट, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउद, जनप्रतिनिधि, औषधि व्यवसायी, युवा, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लागू औषध नियन्त्रणका लागि स्थानीय तह, सुरक्षानिकाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याएका थिए। साथै युवाहरूलाई कुलतबाट जोगाउन अभिभावक, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमले शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनीकरण गर्न तथा लागू औषध नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।



