
डडेल्धुरा : परशुराम नगरपालिका, जोगबुडा डडेल्धुराको १७औं नगरसभा भव्य रूपमा उद्घाटन गरिएको छ। नगरप्रमुख भरत वडायर जोशीको अध्यक्षतामा नगरपालिकाको सिद्धाथानस्थित सभाहलमा नगरसभा सम्पन्न भएको हो।
सभामा नगरप्रमुख जोशीले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमशीलता विकास, सीप अभिवृद्धि, रोजगारी सिर्जना, खेलकुद, महिला सशक्तिकरण, कृषि तथा पशुपालन, सहकारी प्रणाली, पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण, राजस्व परिचालन, न्याय, कानुन तथा मानव अधिकारसम्बन्धी विषयहरू समेटिएको छ।



नगरप्रमुखले विगतका नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिँदै केही नवीन र व्यवहारमुखी नीति समेटिएको जानकारी दिनुभयो।
यस वर्षको बजेट प्रस्ताव भने यही असार १० गते उपप्रमुख विमला महताद्वारा नगरसभामा प्रस्तुत गरिनेछ।

प्रमुख विशेषताहरू
-
विकास पूर्वाधार कार्यक्रमहरू मागमा आधारित रूपमा तय गरिएको छ।
-
विपद् व्यवस्थापन र उद्यमशीलता प्रवर्द्धन मार्फत नगरपालिका रूपान्तरण गर्ने नीति अघि सारिएको छ।
-
डिजिटल युगलाई आत्मसात गर्दै सुसासन प्रवर्द्धनका लागि डिजिटल प्रणालीमा लगानी गरिनेछ।
-
नगर क्षेत्रका विभिन्न वडाहरूमा प्रहरी पोस्ट स्थापना गरी नागरिक सुरक्षामा जोड दिइनेछ।
-
स्थानीय तह अन्तर्गतका सेवा प्रदायक कार्यालयहरूमा ‘इ-हाजिरी प्रणाली’ लागू गरिनेछ, जसबाट सूचना व्यवस्थापन थप प्रभावकारी हुने विश्वास लिइएको छ।



