धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको २५ वर्षीय विकास रणनीति निर्माण गर्ने भएको छ।
प्रदेश नीति तथा योजना आयोगअन्तर्गत सो विकास रणनीति तयार पारिनेछ। आयोगलाई रणनीति तर्जुमा तथा प्रवर्धनका लागि प्रदेश सरकारले आगामी वर्षका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
नेपाल सरकारको १६ औँ योजना, दीगो विकासका लक्ष्य, नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका सम्बन्धी रणनीति तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अवधारणा सँग मेल खाने गरी यो दीर्घकालीन रणनीति बनाइने आर्थिक मामिला मन्त्रालयले जनाएको छ।

यसैगरी, प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माणको काम पनि आगामी वर्ष अघि बढाउने भएको छ। दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि प्रदेश नीति तथा योजना आयोगलाई ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
प्रदेशको पहिलो पञ्चवर्षीय योजना आगामी आर्थिक वर्षमा सकिँदैछ। पहिलो पञ्चवर्षीय योजना २०७८/०७९ मा लागु गरिएको थियो। तर नीति, रणनीति र कार्यनीतिअनुसार कार्यक्रम कार्यान्वयन हुन नसक्दा धेरै लक्ष्य पूरा हुन नसक्ने अवस्थामा पुगेको आयोगले जनाएको छ।
यसअघि प्रदेश सरकारले प्रदेशको १० वर्षीय पर्यटन गुरुयोजना तयार पारेर २०७९/०८० बाट लागू गरेको थियो। २०८९/०९० सम्मका लक्ष्य राखिएको उक्त गुरुयोजनाअनुसार बजेट विनियोजन नहुँदा अपेक्षित पर्यटन विकास हुन नसकेको जनाइएको छ।
गुरुयोजनाअनुसार विनियोजित बजेट मुख्यतस् धार्मिक पर्यटकीय मन्दिरको भौतिक संरचना निर्माण, प्रवर्द्धन र प्रचारप्रसारमा खर्च गर्ने भनिए पनि स–साना र कुलदेवता तहका सांस्कृतिक मन्दिरहरूमा खर्च हुँदा प्रदेशले ठोस लाभ लिन नसकेको सरोकारवालाहरूको भनाइ छ।
