
डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म जोगाइराख्नुपर्ने बताएका छन्। बुधबार डडेल्धुरामा पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यलाई ‘मुलुकको आवश्यकता’ भन्दै यसलाई २०८४ सालसम्म निरन्तरता दिन जोड दिए।

गृहमन्त्री लेखकका अनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्नेछन् र आगामी निर्वाचनको नेतृत्व गर्नेछन्। ‘गठबन्धनको विकल्प छैन,’ लेखकले भने, ‘हामी सबैको काम र शैली गठबन्धनको मर्मअनुसार हुनुपर्छ।’

पछिल्लो समयमा आफूमाथि भइरहेको आरोपप्रति पनि उनले प्रतिक्रिया जनाए। अध्यागमन कार्यालयसम्बन्धी छानबिन प्रकरणमा आफूलाई ‘राजनीतिक षड्यन्त्र’ मा तानिएको लेखकको दाबी छ। ‘सरकारलाई कमजोर बनाउन नियोजित खेल भइरहेको छ,’ उनले भने, ‘कर्मचारीको छानबिनलाई मन्त्रीसम्म जोड्ने प्रयासमा नियत प्रष्टै छ।’
गृहमन्त्री लेखकले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउँदै, अध्यागमन समस्या समाधानका लागि प्रतिपक्षीसँगसमेत सहकार्य भइरहेको जानकारी दिए। उनले हालै बनेको उच्चस्तरीय समिति सुदूरपश्चिमलगायत मुलुकभरका विकास र अध्यागमन चुनौती समाधानमा जुट्ने विश्वास व्यक्त गरे।



