
डडेल्धुरा — डडेल्धुरामा भारतबाट आएकै दिन श्रीमतीको हत्या भएको खुलेको छ । वैदेशिक रोजगारी गरेर घर फर्किएकै दिन श्रीमानको हातबाट आफ्नै श्रीमतीको ज्यान गएको खबरले डडेल्धुराको गन्यापधुरा गाउँपालिका अहिले शोकमा डुबेको छ।

५४ वर्षीय करन भुल हिजो मात्रै भारतबाट आफ्ना परिवारसँग भेट गर्न घर फर्किएका थिए। तर, हिजो फर्किएका श्रीमानले ४० वर्षीया श्रीमती विमला देवी भुललाई हंसियाले प्रहार गरी निर्मम हत्या गरेका छन्।

हत्या गरेपछि फरार रहेका करन भुललाई प्रहरीले आज बिहान ६ः५५ बजे गन्यापधुरा गाउँपालिका–३ गोयलखेतबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो। उनी अहिले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



