आलिताल गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा

जिल्लामै पहिलो स्थान

sc mahendra

डडेल्धुरा, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लास्थित आलिताल गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा पालिकालाई औपचारिक रूपमा उक्त घोषणा गरिएको हो।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल (बोहरा) ले अध्यक्षता गरेकी थिइन्।

यो पनि पढ्नुहोस्…….

आलितालमा स्वास्थ्य क्षेत्रको प्रगति उत्साहजनक, नौ महिनामा ७ हजारभन्दा बढीले लिए ओपिडी सेवा

कार्यक्रममा बोल्दै उपाध्यक्ष बोहराले गाउँपालिकाका आठवटै वडाका लक्षित सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको तथा आवश्यक प्रमाणीकरण र अनुगमन प्रक्रिया पूरा भएपछि पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको जानकारी दिइन्। भौगोलिक विकटता, आर्थिक अभाव तथा विभिन्न चुनौतीका बाबजुद आलिताल गाउँपालिका जिल्लामै सबैभन्दा पहिले पूर्ण खोप सुनिश्चितता हासिल गर्ने पालिका बनेकोमा उनले खुसी व्यक्त गरिन्।

स्वास्थ्य मानव जीवनको मेरुदण्ड भएको उल्लेख गर्दै उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताइन्। साथै, प्रत्येक वर्ष सञ्चालन हुँदै आएको पूर्ण खोप कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

प्रमुख अतिथि भण्डारीले बालबालिकाको पूर्ण खोप सुनिश्चित हुनु केवल स्थानीय तहको मात्र नभई समग्र सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले खोपको महत्वलाई सामान्य रूपमा नलिन आग्रह गर्दै खोपकै कारण विगतमा देखिएका विभिन्न महामारी तथा सामाजिक समस्यामा कमी आएको उल्लेख गरे।

उनले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको बताउँदै खोप कार्यक्रमका कारण बाल मृत्युदर घटेको, स्वास्थ्य अवस्थामा सुधार आएको र समाजमा सकारात्मक परिवर्तन देखिएको धारणा राखे। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुने उल्लेख गर्दै उनले खोप कार्यक्रम त्यसको उत्कृष्ट उदाहरण भएको बताए। भौतिक पूर्वाधार निर्माणभन्दा पनि खोपजस्ता जनस्वास्थ्य कार्यक्रम अझ महत्वपूर्ण रहेको उनको भनाइ थियो।

यस अवसरमा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले आलिताल गाउँपालिका विगतदेखि नै जिल्लामै सबैभन्दा पहिले पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने पालिकाका रूपमा परिचित रहेको र यस वर्ष पनि पहिलो बन्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले खोप मानव जीवन रक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बालबालिकालाई निःशुल्क प्रदान गरिने खोपमा राज्यको ठूलो लगानी रहेको बताए।

खोप अत्यन्त संवेदनशील विषय भएकाले यसको उचित भण्डारण, व्यवस्थापन तथा प्रयोगमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। खोपको गुणस्तर कायम राख्न कोल्ड चेन व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले स्वास्थ्यकर्मी तथा सरोकारवाला सबै पक्षलाई यसतर्फ सचेत रहन आग्रह गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे। उनले प्राप्त उपलब्धिलाई दिगो बनाउन आगामी दिनमा पनि सबै पक्षको निरन्तर सहकार्य र हातेमालो आवश्यक रहेको बताए।

कार्यक्रमका सञ्चालक तथा स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीका अनुसार गाउँपालिकाका सम्पूर्ण वडामा पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्षमा १६ देखि २३ महिनासम्मका १८० जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन्।

हाल आलिताल गाउँपालिकामा २ वटा स्वास्थ्य चौकी, ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, २ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई, १६ वटा नियमित खोप केन्द्र, ६ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेका छन्। साथै ५५ जना महिला स्वास्थ्य स्वयंसेविका र ३२ जना स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।

गाउँपालिकाले २०७० सालदेखि निरन्तर पूर्ण खोप सुनिश्चितता अभियान सञ्चालन गर्दै आएको छ। कार्यक्रममा कार्यसम्पादनका आधारमा उत्कृष्ट ८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा डडेल्धुरा जिल्ला समन्वय समितिका उपप्रमुख अमृता ठडालीमगर,विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य स्वास्थ्यकर्मी, सरोकारवाला निकाय बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.