अमरगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविले उचाल्यो

sc mahendra

डडेल्धुरा:अमरगढी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माविले जितेको छ। आज (बिहीबार) सम्पन्न नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै महेन्द्र माविले शिल्ड उचालेको हो।
उपाधि जितेको महेन्द्र माविले २१ स्वर्ण, १४ रजत र ७ कास्य गरी कूल ४२ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। उपाधिसँगै महेन्द्रले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ। नगर उपप्रमुख पार्वती झुकालले विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरलाई शिल्ड हस्तान्त्ररण गरिन्।
प्रतियोगितामा जिल्ला सदरमुकामकै माउन्टेन बोर्डिङ स्कुल बागबजार द्वितीय भएको छ । माउन्टेनले १० स्वर्ण, १४ रजत र ९ कास्य गरी कूल ३३ पदक जितेको छ। उसले दोस्रो स्थान हासिल गरेबाफत नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्तले जानकारी दिए।
उनका अनुसार प्रतियोगितमा क्याम्ब्रिज पब्लिक स्कूल तृतीय भएको छ। तृतीय स्थान हासिल गरेको क्याम्ब्रिजले ९ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल १४ पदक जित्यो। क्याम्ब्रिजले १५ हजार रुपैयाँ र प्रमाणपत्र पाएको छ।
‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नारासहित अमरगढी नगरपालिकाको आयोजना तथा महेन्द्र माविको व्यवस्थापनमा मंगलबारदेखि सुरु भएको रनिङ शिल्ड बिहीबार सम्पन्न भएको छ। नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो।
प्रतियोगिताका खेलहरू टुँडिखेल र महेन्द्र माविको प्राङ्गणमा खेलाइएको थियो। नगरस्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लास्तरीय रनिङ शिल्डका लागि छनोट गरिएको शिक्षा शाखा अधिकृत पन्तले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.