कञ्चनपुर, माघ १२ सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि धनगढी जाने क्रममा कञ्चनपुरको दैजी चोकमा दुर्व्यवहार भएको छ।
पूर्व(पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले रावल चढेको सवारीसाधनलाई रोक्दै चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेको बताइएको छ। घटनाको बेला सुरक्षामा खटिएका नेपाल प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाइएको छ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका तर्फबाट जारी विज्ञप्तिमा घटनाको कडा निन्दा गर्दै दोषीलाई कानुनी कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा सामाजिक सञ्जालमा घटनाका अंशहरूलाई अतिरञ्जित गर्दै पूर्व मुख्यमन्त्रीको व्यक्तिगत तथा सामाजिक छविमा आँच पुर्याउने प्रयासको घोर आपत्ति जनाइएको छ।
विदाको दिन प्रदेश सभा सचिवालयबाट अनुमति लिएर सरकारी काम विशेषका लागि गइरहेका बेला योजनाबद्ध रूपमा यस्तो घटना भएको एमालेले आरोप लगाएको छ। विज्ञप्तिमा दोषीहरूको पहिचान गरी यथाशीघ्र कारबाही गर्न माग गरिएको छ।
नेकपा (एमाले)का स्वकीय सचिव राजबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा यस्तो व्यवहारले कानुनी शासनमाथि प्रश्न खडा गरेको भन्दै प्रदेश सरकार र सुरक्षाका निकायहरूले जिम्मेवारीपूर्वक छानबिन गर्नुपर्ने उल्लेख छ।

