बसिरको चम्किलो इनिङ्सपछि पनि नेपाल उपविजेता

sc mahendra

३१ चैत, काठमाडौं — बसिर अहमदको करियरकै उत्कृष्ट ब्याटिङ प्रदर्शनका बाबजुद नेपाल हङकङ टी२०आई सिरिजको उपाधि जित्न असफल भएको छ।

आइतबार हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा भएको फाइनल खेलमा नेपाल कुवेतसँग ३ रनले पराजित हुँदै उपविजेतामा सीमित भयो।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमै १७१ रनमा अलआउट भयो।

बसिरले ४३ बलमा ८ चौका र ४ छक्कासहित ८० रन बनाए। तर, खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक रहँदा उनी फिनिसिङ गर्न असफल भए।

ओभरको पहिलो बल नो बल भएपछि बसिरले छक्का हानेर दबाब घटाए पनि त्यसपछि दुई डट बल खेले। तेस्रो बलमा उनी आफैँ क्याच दिएर आउट भएपछि नेपालको जितको आशा समाप्त भयो।

नवौं विकेटका लागि बसिर र नन्दन यादवबीच ७२ रनको कीर्तिमानी साझेदारी भएको थियो, जुन नेपालका लागि टी२०आईमा नवौं विकेटको अहिलेसम्मकै उच्च साझेदारी हो।

नन्दनले १४ बलमा २ चौका र ४ छक्कासहित ३७ रन बनाए भने ओपनर आसिफ शेखले २१ रन जोडे। अन्य ब्याटरहरू भने दोहोरो अंकमा पुग्न सकेनन्।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए। करण केसी र कुशल भुर्तेलले एक/एक विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले ३६ बलमा ६ चौका र ४ छक्कासहित ६३ रन बनाए। क्लिन्टो अन्टोले १४ बलमा २६, उस्मान पटेलले १५ बलमा २३ र मीत भवसारले ८ बलमा १६ रन बनाए।

पावर प्लेमा कुवेतले ७१/१ रन बनाएको थियो, जुन नेपालले टी२०आईमा पावर प्लेमा दिएको सबैभन्दा धेरै रन हो। तर नेपाली बलरहरूले अन्तिम ११ ओभरमा मात्र ७४ रन दिँदै उत्कृष्ट पुनरागमन गरे।

बलिङ र ब्याटिङ दुवैमा पुनरागमन गरे पनि अन्तिम क्षणमा चुक्दा नेपाल उपाधिबाट बञ्चित भयो।

You might also like
Leave A Reply

Your email address will not be published.