विश्वकप लिग-२: आरिफ शेख चम्किए, नेपालले नेदरल्याण्ड्सलाई पाखा लगायो

sc mahendra

काठमाडौं — आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै महत्त्वपूर्ण अंक जोड्न सफल भएको हो।

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ७८ रनको योगदान दिए। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।

दीपेन्द्र सिंह ऐरी ३८ रनमा अविजित रहे भने कप्तान रोहितकुमार पौडेल २३ रनमा रनआउट भए। ओपनर कुशल भुर्तेलले २५ रन बनाए भने अर्का ओपनर आसिफ शेख १९ रनमा पभेलियन फर्किए।

त्यसअघि स्कटल्याण्डको डुन्डेस्थ स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल तयार पारेको थियो।

नोहा क्रोसे ५५ बलमा ५ चौकाको सहयोगमा ४८ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ७१ बलमा ४ चौकासहित ४६ रन जोडे। विक्रमजित सिंहले ३८ रन र ज्याक लायनले ३४ बलमा २७ रन बनाए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए।

जितसँगै नेपालले प्रतियोगितामा थप २ अंक जोडेको छ। १४ खेलमा ४ जितसहित १० अंक बनाएको नेपाल अंक तालिकाको सातौं स्थानमा यथावत रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.