धनगढी — सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले प्रदेश सरकारले ल्याएको स्थानीय तह (गठन तथा सञ्चालन) ऐन, २०८१ को समायोजन ऐनको विरोधमा आन्दोलन थालेका छन्।
स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारिएको स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समितिले जनाएको छ। समितिका अनुसार ८८ वटै स्थानीय तहका स्वास्थ्य संस्थाबाट नियमित सेवा र मासिक रिपोर्टिङ पनि बन्द गरिएको छ।
सङ्घर्ष समितिका संयोजक राजेन्द्र सिँह साउँदका अनुसार पटक–पटक ज्ञापनपत्र बुझाउँदा र धर्ना गर्दासमेत छलफलमा नबोलाइएकोले आइतबारदेखि सेवा ठप्प पारिएको हो। उनीहरूले मुख्यमन्त्री कार्यालयअगाडि धर्ना जारी राखेका छन्।
स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने माग गरेका छन्। सुरुमा स्थानीय तहमा समायोजन हुँदा समेत विभेद भएको र नयाँ ऐनले थप विभेद गरेको उनीहरूको आरोप छ।
