डडेल्धुरा , आलिताल गाउँपालिका–८ दुवालीखेत अहिले हराभरा धानका बाला झुलेर आकर्षक देखिएको छ।
आलुको पकेट क्षेत्रका रूपमा परिचित दुवालीखेतमा अहिले धानबालीले खेतहरू भरिएका छन् भने केही महिनापछि त्यही जमिनमा रमणिय आलुको बारी देख्न सकिन्छ ।
उक्त क्षेत्रमा हरेक वर्ष करिब पाँच सय क्विन्टल भन्दा बढी आलु उत्पादन हुन्छ। रङुन खोलाको किनारमा प्रशस्त पानी उपलब्ध हुने भएकाले आलु तथा तरकारी खेती गर्न सहज भएको किसान बताउँछन्। दुवाली खेतको तरकारी खेतीले बजारमा राम्रै स्थान पाउने गरेको छ ।

करिब ३० जना किसान आवद्ध रङुन ताजा तरकारी कृषक समूहले सामूहिक रूपमा आलु खेती गर्दै आएका छन्। उनीहरूले आलुसँगै गोलभेँडा, बन्दा, काँक्रा र मौसमी तरकारी उत्पादन गर्दै बजारसम्म आपूर्ति गर्ने गरेका छन्।
पहिले आलुको बीउ अनुदानमा लिनुपर्ने बाध्यता भए पनि अहिले किसान आफैं आत्मनिर्भर बनेका छन्। उनीहरूले उत्पादन भएको आलुको केही भाग बीउका रूपमा छुट्याएर कोल्ड स्टोरमा राख्ने गरेका छन्। यस प्रक्रियामा कृषि ज्ञान केन्द्र डडेल्धुरा, आलु सुपरजोन कार्यक्रम र आलिताल गाउँपालिकाको कृषि सेवा शाखाले प्राविधिक तथा भौतिक सहयोग गर्दै आएका छन्।
यस क्षेत्रमा अगुवा किसान लालबहादुर डाला मगरले धान, आलु र तरकारीसँगै माछापालन, बाङ्गुरपालन र गद्यौला पालनमार्फत कृषिलाई व्यवसायिक बनाएका छन्। जलवायु परिवर्तनका कारण असमय वर्षा, असिनापात र रोग–कीराले खेतीमा चुनौती थपे पनि उनले हार नमान्दै कृषिलाई विविधिकृत गर्दै आएका छन्। यही लगनशीलताका कारण डाला मगर उत्कृष्ट किसानको सम्मान पाइसकेका छन्।
डालामगरका अनुसार जलवायु परिवर्तनका चुनौतीबीच पनि दुवालीखेत आत्मनिर्भर कृषिको नमूना बन्दै गएको छ। धान, आलु र तरकारीसँगै पशुपालन र माछापालन मार्फत पनि डालामगरले उत्पादन बढाइरहेका छन्।
दुवालीखेतका झुलेका धानका बाला अहिले किसानको संघर्ष र सम्भावनाको प्रतीक बनेका छन्।