

डडेल्धुरा : डडेल्धुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत फेला परेका हुन्। चितवन दरबन्दी भएका बोहरा डडेल्धुरामा कार्यरत थिए। उनी अमरगढी नगरपालिका–५ को ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएको डडेल्धुरा प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएका थिए। श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो। खोजीका क्रममा उनी मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



