
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच मुकाबला हुँदैछ। खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

पोखरा कप्तान कुशल भुर्तेलको नेतृत्वमा मैदान उत्रिनेछ भने सुदूरपश्चिमतर्फ राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान छन्। अघिल्लो खेलमा कुशलले हिर्काएको शक्तिशाली सिक्सले कमेन्ट्री बक्सको सिसासमेत फुटेको घटना चर्चामा छ।

सुदूरपश्चिम एक खेलबाट दुई अंकसहित राम्रो लयमा छ भने अंकविहीन पोखरा आज पहिलो जितको खोजीमा हुनेछ।
एनपीएलमा आठ टोली प्रतिस्पर्धामा छन् र सबै खेल त्रिवि मैदानमै दिउँसो तथा राति भएर सम्पन्न हुँदैछन्।
क्यानले हरेक खेलका लागि ९,४५० टिकट बिक्री गरिरहेको छ। प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म चल्नेछ।



