भ्रमण मै उड्यो ४४ लाख, अमरगढी नगरपालिकाको खर्चमा महालेखाको गम्भीर प्रश्न!

sc mahendra

डडेल्धुरा — अमरगढी नगरपालिकाले एक वर्षको अवधिमा ‘भ्रमण’कै नाममा ४४ लाख ९८ हजार ८८७ रुपैयाँ खर्च गरेको खुलासा भएको छ। उक्त खर्च पारदर्शी ढंगले नभएको भन्दै महालेखा कार्यालयले कडा प्रश्न उठाएको छ।

महालेखाको प्रतिवेदन अनुसार, भ्रमण खर्च शीर्षकमा गरिएको उक्त रकम खर्च गर्दा न विधिसम्मत प्रक्रिया पालना गरिएको छ, न  खर्चको प्रतिफल देखिएको छ। अझ गम्भीर कुरा, केही भ्रमणहरू पालिकासँग प्रत्यक्ष सरोकार नभएको अन्तरपालिका भ्रमण देखिएका छन्, जसमा पनि ठोस उपलब्धि शून्य रहेको महालेखाको टिप्पणी छ।

महालेखाको प्रतिवेदनमा भनिएको छ —

> “स्पष्ट प्रयोजन र उद्देश्य बिना अधिकांश भ्रमणमा ७ दिनको समयावधि राखिएको छ। यस्तो अवस्थामा खर्च नगरपालिकाको उच्च प्रयोजनमा उच्चतम उपयोग भएको भनी विश्वास गर्न सकिँदैन।”

महालेखाले २०७५ को स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन र २०६४ को भ्रमण खर्चसम्बन्धी नियमावलीको उल्लेख गर्दै, तोकेको ढाँचामा प्रतिवेदनबिना नै भुक्तानी भएको उल्लेख गरेको छ।

यस प्रकरणले स्थानीयबासी र सरोकारवालामा तीव्र असन्तोष सिर्जना गराएको छ। उनीहरूको भनाइ छ —

> “विकासभन्दा भ्रमण प्राथमिकता हो भने, नगरको भविष्य कता जाँदैछ?”

महालेखाले अब नगरपालिकालाई भ्रमण खर्च गर्दा कानुनी प्रावधानअनुसार प्रयोजन स्पष्ट पार्ने, विधिसम्मत ढाँचामा प्रतिवेदन संलग्न गर्ने, र खर्च साँचिकै पालिकाको हितमा भएको सुनिश्चित गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.