बाजुराको च्याचौर विवाद:मुख्यमन्त्री शाहले कर्णाली सरकारसँग मागे सहकार्य

sc mahendra

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ च्याचौरमा निर्माणाधीन अस्थायी प्रहरी चौकी भवनमा भएको अवरोधका विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलसँग टेलिफोन वार्ता गरेका छन्।

वार्ताका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा उक्त चौकी निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको र हिमाली गाउँपालिकामार्फत निर्माण कार्य अघि बढिरहेको जानकारी गराउँदै सो क्षेत्र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने स्पष्ट पारेका छन्। उनले अवरुद्ध निर्माण कार्य तत्काल पुनः सुरु गर्न र बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका छन्।

दुवै मुख्यमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै घटनामा संलग्न दोषीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन संघीय सरकारसँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। मुख्यमन्त्री शाहले प्रदेश सरकारले शान्ति, सुरक्षा र सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन र समस्याको समाधान संवादमार्फत खोज्न आग्रह गरेका छन्।

यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले घटनाप्रति खेद प्रकट गर्दै विभिन्न निर्णय गरेको छ। बैठकले प्रदेश सभाका समितिमा विचाराधीन विधेयकहरू छिटो टुंगो लगाउन अनुरोध गर्ने, आगामी बजेटलाई सन्तुलित, समानुपातिक र समावेशी बनाउन सरकारलाई आग्रह गर्ने तथा च्याचौरस्थित प्रहरी चौकी निर्माणमा भएको अवरोध र आक्रमण घटनामा संलग्नमाथि कडा कारबाही गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.