
२७ भदौ : गोरखामा दुई बस एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गोरखाको भच्चेकबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बस गण्डकी गाउँपालिका–४ स्थित गैरीचौतारामा एकआपसमा ठोक्किएका हुन्।


जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार भच्चेकबाट काठमाडौं आउँदै गरेको ग २ ख ९८३ नम्बरको बस र काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग २ ख ८००६ नम्बरको बस आपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका तीन जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते १० वर्षीय बालकलाई भने थप उपचारका लागि काठमाडौं रेफर गरिएको एसपी खड्काले बताए।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



