डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु,एक जना घाइते
भदौ २८ डडेल्धुरा । डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ मेलखर्क नजिक अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशब महराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा सवार बिरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाइएको प्रहरी निरीक्षक नायकले बताए । अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको उनले बताए । दुई जना मृत र एक जना घाइते भेटिए पनि अटो रिक्सा भने अझै फेला नपरेको नायकले जानकारी दिए । दुर्घटनाको कारण खुलेको छैन ।