डडेल्धुरा । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको गैरा बजारमा पुन: चक्काजाम गरिएको छ । हिजो (सोमबार) बिहान कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा डडेल्धुराको आलिताल गाउँपालिका–१ का पूर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको मृत्यु भएपछि स्थानीयले हिजो अपरान्ह राजमार्ग अवरुद्ध पारेका थिए ।
दोषीलाई कारबाही हुनुपर्ने तथा क्षतिपूर्ति दिइनुपर्ने स्थानीयको माग थियो । साँझ पीडित परिवार र उक्त सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस आवद्ध पवनदुत यातायात व्यवसायी समितिबीच छलफल चलेकाले राजमार्ग खोल्न स्थानीय सहमत भएका थिए ।
तर, समितिकै आधिकारिक व्यक्ति सम्पर्कमा नआएपछि स्थानीयले आज(मंगलबार) बिहानैबाट पुनः राजमार्ग अवरुद्ध गरेका छन् ।
हिजो बिहान ठक्कर दिएपछि बस चालक फरार रहेका थिए । मृतक ऐरको परिवारले दोषी सम्पर्कमा नआए सम्म शव नउठाउने बताएका छन् । अहिले ऐरको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालको शवघरमा राखिएको छ । ऐर २०७४ सालको स्थानिय तहको चुनावमा एमालेबाट आलिताल गाउंपालिका वडा न।१ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।