डडेल्धुरा : स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजाअनुसार डडेल्धुरामा सातवटा स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका पहिलो भएको छ भने आलिताल र भागेश्वर गाउँपालिका संयुक्त रूपमा दोस्रो भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन ९लिजा० नतिजाअनुसार अजयमेरुले आर्थिक वर्ष २०८०/८१ मा ८३.२५ प्रतिशत अंक ल्याएर अग्रता कायम गरेको हो।
आलिताल र भागेश्वरले समान ८१.२५ अंक ल्याएर दोस्रो स्थानमा साझा गरेका छन्। तेस्रो स्थानमा गन्यापधुराले ७५.५० अंक ल्याएको छ।
त्यस्तै, परशुराम नगरपालिकाले ७५.२५, अमरगढी नगरपालिकाले ७३.७५ र नवदुर्गा गाउँपालिकाले ७३.२५ अंक ल्याएका छन्।
मन्त्रालयले स्थानीय तहको शासकीय प्रबन्ध, प्रशासन, बजेट तथा योजना, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समावेशीकरणलगायतका सूचकका आधारमा मूल्यांकन गर्ने गरेको छ।
