डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लास्थित आलिताल गाउँपालिकामा आयोजित राष्ट्रिय हाप्किडो कौशल अभिवृद्धि सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश हाप्किडो संघको आयोजनामा, नेपाल हाप्किडो संघको स्वीकृतिमा तथा आलिताल गाउँपालिकाको व्यवस्थापनमा मिति १७ गतेबाट सुरु भएको सेमिनार आज समापन भएको हो।
सेमिनारमा देशका विभिन्न जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी खेलाडीहरूलाई तह र ग्रेड अनुसार समूहगत रूपमा विभाजन गरी हाप्किडोका आधारभूतदेखि उन्नत प्रविधिसम्मको व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा आत्मरक्षा सीप, शारीरिक सन्तुलन, गति र नियन्त्रण, खेल अनुशासन तथा सुरक्षा सम्बन्धी मापदण्डमा विशेष ध्यान दिइएको नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले बताए।

सेमिनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। हाप्किडोका केन्द्रीय मुख्य प्रशिक्षक प्रविन गुरुङका अनुसार अन्तर्राष्ट्रिय अभ्यास, आधुनिक प्रविधि तथा प्रतिस्पर्धात्मक तयारीसम्बन्धी विषयमा प्रशिक्षण गराइएको बताए। खेलाडीहरूको कमजोरी पहिचान गरी सुधारका उपायहरू समेत सुझाइएको उनले जानकारी दिए।
सेमिनार अन्तर्गत रेफ्री तथा प्रशिक्षक लक्षित विशेष सत्रसमेत सञ्चालन गरिएको थियो। उक्त सत्रमा खेल नियम, निर्णय प्रक्रियाको निष्पक्षता, खेल सञ्चालनका प्राविधिक पक्ष तथा नेतृत्व क्षमताको विकाससम्बन्धी प्रशिक्षण दिइएको गुरुङले बताए। यस प्रकारका कार्यक्रमले आगामी प्रतियोगिताका लागि दक्ष रेफ्री र प्रशिक्षक उत्पादन गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

आलिताल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको हाप्किडो सेमिनार आयोजना भएकाले स्थानीय खेलप्रेमी युवाहरूमा विशेष उत्साह देखिएको छ। स्थानीय तहमा खेलकुद गतिविधि विस्तार गर्ने, ग्रामीण क्षेत्रका प्रतिभाको पहिचान गर्ने तथा उनीहरूलाई राष्ट्रिय मूलधारमा ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको नेपाल हाप्किडो संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष राजेन्द्र मडैले बताए।
समापन कार्यक्रममा आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले खेलकुदले युवालाई अनुशासित, आत्मनिर्भर र आत्मविश्वासी बनाउने बताउँदै स्थानीय तहले खेलकुद विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे।

उनले भने, “ग्रामीण भेगका युवामा अपार खेल प्रतिभा लुकेको छ। यस्ता राष्ट्रिय स्तरका सेमिनार तथा प्रतियोगिताले ती प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन्। आलिताल गाउँपालिका खेलकुदको विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण तथा प्रतियोगितामा सक्दो सहयोग गर्न प्रतिबद्ध छ।”
अध्यक्ष पार्कीले आगामी दिनमा हाप्किडो लगायतका मार्शल आर्ट खेलको प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय तहसँग सहकार्य गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी गराए। साथै, उनले नेपाल हाप्किडो महासंघको १२औँ राष्ट्रिय सम्मेलन आलिताल गाउँपालिकामै आयोजना गर्न आग्रह गर्दै यसका लागि गाउँपालिका पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।
डडेल्धुरा बार एसोसिएसनका अध्यक्ष तुलाराम बोहराले खेलकुद र कानुनी अनुशासनबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरे।

उनले भने, “हाप्किडोजस्ता मार्शल आर्ट खेलले युवालाई आत्मअनुशासन, संयम र जिम्मेवारीबोध सिकाउँछ। आजका युवालाई कुलत र हिंसाबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम हो। यस्तो राष्ट्रिय स्तरको सेमिनार आलितालमा आयोजना हुनु सम्पूर्ण जिल्लाकै लागि गर्वको विषय हो।”
अध्यक्ष बोहराले खेलकुद क्षेत्रको विकासका लागि राज्यका सबै निकाय, संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै युवाको शारीरिक तथा मानसिक विकासमा यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा ठूलो संख्यामा खेलाडीहरूको उपस्थिति रहेको थियो।


