सावन १० – नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अब अर्को बैठक साउन १० गते सोमवारका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आआफ्नो सिटबाट उठेका थिए । प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गरे । त्यसपछि आकस्मिक समयमा अरु दलका सांसदहरुले पनि धारणा राखे । आकस्मिक समयको पालो सकिएर सभामुखले शून्य समय सुरु गर्नेवित्तिकै एमाले प्रमुक सचेतक गिरी पुनः उठे ।
उनले सुन तस्करीका विषयमा अरु दलका सांसदहरुले पनि भनाइ राख्न खोजेकाले आफूहरु लचिलो भएको बताए । तर उच्चस्तरीय छानबिन समिति गठनका लागि सभामुखबाट रुलिङ नभएसम्म बैठक चल्न नदिने बताए ।