आलितालमा जनप्रतिनिधि नै लागे बजार सरसफाइमा

sc mahendra

डडेल्धुरा आलिताल गाउँपालिकाको आयोजनामा घुम्ती बजार देखि गोदाम बजारसम्म सरसफाइ गरिएको छ ।

शनिबार बिहान डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित घुम्ती बजारदेखि गोदाम बजारसम्म सरसफाई गरिएको हो ।
गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बजार सरसफाइका लागि आफैं सडकमा उत्रिएका थिए। गाउँपालिका वडा नं. ५ का अध्यक्ष डम्मर ढाँट, वडा नं. ८ का अध्यक्ष धनबहादुर देउवा, वडा नं. ३ का अध्यक्ष बलबहादुर बूढामगर, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका कर्मचारी, नेपाल प्रहरी, स्थानीय व्यापारी, समाजसेवी, बजार व्यवस्थापनका पदाधिकारी, शिक्षकलगायतको सहभागितामा सरसफाइ गरिएको हो।

सरसफाइ अभियानका क्रममा सडकको नाली पनि सफाइ गरिएको थियो। पालिकाको मुख्य बजारलाई सफा, सुन्दर र रमणीय बनाउनका लागि बजार क्षेत्रको सरसफाइ अभियानको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष पार्कीले बताए।

आफ्नो घरआँगन र बजार क्षेत्र सधैं सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफू पनि सडकमा कुचो र झाडु बोकेर निस्किएको उनको भनाइ छ।

शनिबारबाट सुरु भएको बजार सरसफाइ अभियान निरन्तर रूपमा जारी रहने उनले बताए। घुम्ती बजार पर्यटकीय क्षेत्र आलितालको प्रवेशद्वार हो भने गोदाम बजार पालिकाको मुख्य बजारका रूपमा चिनिन्छ।

You might also like
Leave A Reply

Your email address will not be published.