बझाङमा हिजो गएको भुकम्पमा एकजना बेपत्ता भएका छन् भने १५ जना घाइते भएका छन् । बझाङका बिभिन्न स्थानमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि एकजना बेपत्ता भएका छन् भने १५ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार भूकम्पसँगको पहिरोले जयपृथ्वी नगरपालिका– ११ ओखल गाउँकी गुनदेवी धामी बेपत्ता भएकी हुन् । घाइते भएका जयपृथ्वी नगरपालिका, मस्टा गाउँपालिका, केदारस्युँ, छब्बिस पाथिभेरा, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकाका १३ जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । भूकम्पबाट बाजुरामा पनि दुईजना घाइते भएका छन् । बझाङ, बाजुरा, डोटी, डडेल्धुरा र बैतडीलगायत जिल्लामा घरसहितका भौतिक संरचनामा क्षति पुगेको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बझाङ सदरमुकामआसपास भएर गएका सातमध्ये सबैभन्दा ठूलो भूकम्प दिउँसो ३ः०६ बजेको ६.३ म्याग्निच्युडको हो । यसको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको थियो । त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ३ः४५ र ४ः२८ बजे समान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ भने साँझ ४ः३१ मा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ । साँझ ५ः१९ र ५ः३८ बजे समान ५ म्याग्निच्युडका भूकम्प गएका छन् ।
पछिल्लोपटक पश्चिम नेपाल केन्द्रविन्दु भएर एकपछि अर्को भूकम्प गइरहेका छन् । २२ कात्तिक ०७९ मा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर ६।६ म्याग्निच्युडको भूकम्पले पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँका ६ जनाको मृत्यु भएको थियो ।