डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर धनगढी कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा ९ सय ९२ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिहले जानकारी दिए । जस मध्ये ६ सय ३७ महिला थिए भने ३ सय ५८ पुरुष सेवाग्राही थिए । प्रमुख सिंहका अनुसार भित्रि मधेस क्षेत्रको परशुराम नगरपालिका र आलिताल गाउंपालिका र केहि डोटीको जोरायल गाउंपालिकाका जनता समेत सहभागी थिए ।
एक दिने स्वास्थ्य शिविरमा फिजिसियन जनरल मेडिसीन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति रोग, मानशिक रोग, जनरल सर्जरी तथा मुत्र रोग विशेषज्ञ चिकित्सकले सेवा दिएको नगरपालिकाले जनाएको छ ।
आलिताल र परशुरामका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख भरत बडायर जोशीले बताए । जोशीका अनुसार आफुहरुले अनुमान गरेको भन्दा बढी संख्यामा सेवाग्राही आएपछि केहि व्यवस्थापनमा समस्या आएको बताए । शिविरमा केहि विरामीहरुले औषधि नपाएको गुनासो गरेका थिए । नग्प्रमुख जोशीले पांच सयको हाराहारीमा सेवाग्रही आउन सक्ने अनुमानमा व्यवस्थापन गरिएको भएता पनि सेवाग्राही दोब्बर संख्याले आउदा व्यवस्थापन र औषधीको कमि भएको भएको बताए ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा मुटु, प्रेसर, सुगर, ग्यास्ट्रिक, अल्सर, छाती, दम, कलेजो, कोलेस्ट्रोल, टाईफाईड, थाईराईड, एमिनिया ,हाडजोर्नीको समस्या, भाचिएको, कुच्चिएको, मर्केको, बाङगोटिंगो हड्डीको उपचार, बाथरोग, युरिक एसिड, घुडा,काध, कम्मर आदिको दुखाई अप्रेसन तथा उपचार, स्त्रीरोग विशेष्ज्ञ चिकित्सकद्वारा महिलाहरुको पाठेघर खस्ने, तल्लोपेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघरमा मासु पलाएको, डेलीभरी समस्याको उपचार तथा परामर्श सेवा दिनुका साथै मानसिक रोग सम्वन्धी समस्याको उपचार, हर्निया, हाईड्रोसिल, पत्थरी, पाईल्स, प्रोस्टेट र महिलाको स्तनमा गाठागुठी भएको समस्याको उपचार तथा परामर्श समेत दिइएको थियो ।
कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटलले ६ बर्ष देखि २० वटा बिभागबाट दैनिक सेवा दिईरहेको छ ।