धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने भएको छ ।
सोडारीले भोली(बिहिबार) विश्वासको मत लिने कार्यक्रम छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
यसबारे सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘हामीले संसदीय दलको बैठक राखेर अहिले सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौँ । सरकारमा सहभागी हुने(नहुने विषय उठेको छैन ।’
उनका अनुसार विकसित घटनाक्रमलाई हेरेर मात्र एमाले सरकारमा सहभागी हुने भएको छ ।
वैशाखको अन्तिम साता दुई पटक विश्वासको मत लिन लागेका सोडारीलाई एमालेले दुई पटक नै दिएको थिएन ।
बझाङ उपनिर्वाचनमा विजयी भएका दामोदर भण्डारीको बुबाको काज किरियालाई देखाएर एमालेले हलो अड्काएको थियो ।
कोशीमा एकीकृत समाजवादीले एमालेका हिक्मत कार्कीलाई विश्वासको मत दिएपछि एमालेले सुदूरपश्चिममा पनि समाजवादीलाई गुन तिर्न लागेको हो ।