रास्वपा डडेल्धुराको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा इ. सुरेन्द्र अवस्थी पुनः निर्वाचित

sc mahendra

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट इन्जिनियर सुरेन्द्र अवस्थी पुनः जिल्ला सभापतिमा चयन भएका छन्। यसअघि पनि पार्टीको जिल्ला नेतृत्व सम्हाल्दै आएका अवस्थीलाई संगठन विस्तार र पार्टी सुदृढीकरणमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै पुनः नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा मदन सिंह धामी, सचिवमा टंकप्रसाद अवस्थी तथा सहसचिवमा बसन्तराज पाण्डेय चयन भएका छन्। त्यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा मिना फुलारा, देवसिंह भाट, सन्तोष ऐर, चन्द्रदेव कुँवर र जितेन्द्र जैरु निर्वाचित भएका छन्।

अधिवेशनमा जिल्लाभरका पार्टी प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति अवस्थीले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताको अपेक्षा अनुरूप जिम्मेवार राजनीतिक अभ्यास अघि बढाइने बताए। उनले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

रास्वपाले पछिल्लो समय देशभर संगठन विस्तार तथा पुनर्गठन अभियानलाई तीव्र बनाइरहेको छ। सोही अभियानअन्तर्गत डडेल्धुरामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी दिनमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.