केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि आलिताल गाउँपालिकाको कार्यालयले जित्यो

sc mahendra

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजना गरिएको केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि आलिताल गाउँपालिकाको कार्यालय टिमले जितेको छ।

फाइनल खेलमा वडा नं. ३ को कार्यालयलाई पराजित गर्दै आलिताल गाउँपालिकाको कार्यालयले उपाधि हात पारेको हो। उपाधिसँगै विजेता टिमले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको वडा नं. ३ को कार्यालयले सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो। १२९ रनको लक्ष्य पछ्याएको आलिताल गाउँपालिकाको कार्यालयले १७।२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो। माघ ५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज शुक्रबार सम्पन्न भएको हो।

आयोजक समितिका संयोजक इन्द्र साउदका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १११ रुपैयाँ र द्वितीय पुरस्कार ५१ हजार १५१ रुपैयाँ निर्धारण गरिएको थियो। उनले यो प्रतियोगिताले आलिताललाई नमुना तथा ऐतिहासिक खेलकुद कार्यक्रमका रूपमा विकास गर्न सहयोग पुगेको बताए।

प्ले–अफ चरणमा बाहिरका खेलाडी अधिकतम ४ जना मात्र खेल्न पाउने व्यवस्था गरिएको थियो। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलिसकेका खेलाडीहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

केशब सिंह को हुन् ?

आलिताल गाउँपालिका वडा नं. ६, धिमदामा जन्मिएका केशब सिंह एक असल व्यक्तित्वका धनी तथा आशालाग्दा क्रिकेट खेलाडी थिए। सानै उमेरदेखि क्रिकेटप्रति गहिरो रुचि राख्ने उनले आलिताल क्षेत्रमा क्रिकेट खेलको सुरुवात र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनी केवल खेलाडी मात्र नभई युवाहरूका लागि प्रेरणाका स्रोतसमेत थिए। उदाउँदै गरेका क्रिकेट खेलाडी केशब सिंहले भविष्यमा अझ ठूलो पहिचान बनाउने अपेक्षा गरिँदै गर्दा क्यान्सरजस्तो प्राणघातक रोगका कारण अल्पायुमा नै निधन भएको थियो। उनको असामयिक निधनले परिवार, साथीभाइ, खेलप्रेमी तथा सम्पूर्ण आलिताल क्षेत्र शोकाकुल बनेको थियो।

स्वर्गीय केशब सिंहको स्मृति तथा उनले क्रिकेट क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप पहिलो पटक “केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता” आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

यस प्रतियोगितामार्फत उनको सपना, संघर्ष र खेलप्रतिको समर्पणलाई सदैव जीवित राख्ने उद्देश्य राखिएको छ। आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण खेलप्रेमी, स्थानीय संघ–संस्था, युवावर्ग तथा सहयोगी मनका व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।

केशव स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन आज, ८ टिम सहभागी

आलितालमा केशव स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

आलितालमा केशव स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी भोलि अनावरण हुँदै

आलितालमा केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता माघ ५ देखि, प्रथम पुरस्कार १ लाख

You might also like
Leave A Reply

Your email address will not be published.